रुकुम पश्चिममा सञ्चालित कर्णाली प्रदेशकै ठूलो पुरस्कार राशीको तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीले हात पारेको छ ।
जेठ १९ गतेदेखि रुकुम पश्चिम भलिबल केन्द्रको आयोजनामा मुसिकोट नगरपालिकाको खलंगास्थित बराहाटाकुरामा सोमबार भएको फाइनलमा हाम्रो सरोकार रुकुम पश्चिमलाई पराजित गर्दै बौदीकालीले उपाधि हात पार्न सफल भएको हो ।
बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
दुवै टिममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडीहरू रहेका थिए । विजेता बौदीकालीमा हिमाल सुनारी, सरोज वर्देवा, राजन दर्लामी मगर लगाएका खेलाडी रहेका थिए भने हाम्रो सरोकारमा नेपाल आर्मीका धनबहादुर भट्ट, कोसी प्रदेशका क्याप्टेन विष्णु बस्नेत तथा मनोज घिमिरे लगायतका खेलाडीहरू रहेका थिए ।
विजेता बौदीकालीले नगद ५ लाख ११ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

उप विजेता हाम्रो सरोकारले नगद २ लाख ६१ हजार, कप, मेडल र प्रमाणपत्रमा आत पार्न सफल भएको छ । प्रतियोगितामा टिम खनाल रुकुम पश्चिम तेस्रो र वनगाड कुपिण्डे सल्यान सान्त्वना भएको छ ।
टिम खनालले १ लाख ५१ हजार र टिम वनगाडले १ लाख ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेको आयोजक भलिबल केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।
रुकुम कपको महिला तर्फ भने बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले उपाधि हात पारेको छ ।
आइतबार भएको फाइनलमा जनज्योति युवा विकास केन्द्र रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोटले उपाधि जितेको हो ।
उसले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उपविजेता जनज्योतिले नगद ७५ हजार, ट्रफि मेडल र प्रमाणपत्र तथा तेस्रो बनेको रुकुम भलिबल टिमले नगद ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । चौथो भएको सीमा भलिबल क्लब रुकुम पूर्वले २५ हजार नगद पुरस्कार पाएको भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष बुढाले जानकारी दिनुभयो ।


