रुकुम पश्चिमको चौरजहारी नगरपालिकालाई ग्रामिण भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिएको छ ।
रुकुमेली समाज विकास केन्द्रको आर्थिक सहयोगमा वान हार्ट वल्र्ड वाईडले नगर पालिकालाई ग्रामिण डिभियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो । आज चौरजहारी नगर प्रमुख पुष्प वादीलाई रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले भिडियो एक्सरे मेसिन हस्तान्तरण गर्नुभएको हो ।
‘‘स्थानीय सरकारको साझेदारीमा संचालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुद्धढीकरण’’ परियोजना अन्तरर्गत नगरपालिकालाई २ लाख २३ हजार ७ सय ५३ रुपैयाँ पर्ने मेसिन हस्तान्तरण गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्रको लागि एक वटा ग्रामिण भिडियो एक्सरे मेसिन सहयोग गरिएको हो । मेसिन उपलब्त्र भएसँगै समुदाय स्तरमा गर्भवती महिलाको स्वास्थ्य स्थिति पहिचान गरी जटिल खालका गर्भवतीलाई समयमै माथिल्लो निकायमा पुर्याई गर्भवती महिलालाई थप जटिलता हुनबाट जोगाउन सकिनेछ ।
यस अघिनै एक्सरे मेसिन संचालन गर्न छ वटै पालिकाका नर्सलाई २१ दिने प्राविधिक तालिम समेत प्रदान गरिएको संस्थाले जनाएको छ । सहयोग गर्ने संस्थालाई नगर प्रमुख पुष्प वादीले धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा पनि सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनुभएको थियो ।