
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी तथा वरिष्ठ गायक दिनेश प्रसाद थानीको स्वर, संगीत र अभिनयमा तयार गरिएको नयाँ राष्ट्रभक्ति गीत ‘सयौ थरी फूलहरुको’ सार्वजनिक भएको छ।
गीत बिहीबार दिनेश थानी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
सुनिता पराजुलीको शब्दमा तयार यो गीतले राष्ट्रप्रेम, समानता र नेपालीपनको सन्देश प्रवाह गरेको छ।
गीतका भावपूर्ण पंक्तिहरू —
“सयौ थरी फूलहरुको एउटै माला गाँस्न पाउँ,
जहाँ रहुँ संसारमा नेपाली भई बाँच्न पाउँ,
नेपाली भई हाँस्न पाउँ…”
— मार्फत नेपालीहरूबीचको एकता, माटोप्रतिको माया र साझा पहिचान उजागर गरिएको छ।
भिडियो रुकुम पश्चिमको सदरमुकाम मुसिकोट र वरपरका सुन्दर स्थानहरूमा छायांकन गरिएको हो।
छायांकन घनश्याम खड्काले गर्नुभएको यस भिडियोमा थानीसँगै सशस्त्र प्रहरी नायब उपरीक्षक जनदिश चन्द्र हमाल र प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना पनि अभिनयमा देखिएका छन्।
सिभिल इन्जिनियरिङ पृष्ठभूमिबाट प्रशासनिक सेवामा प्रवेश गर्नुभएका थानी एक प्रशासक मात्र होइन, सफल सर्जक र वरिष्ठ गायक पनि हुनुहुन्छ।
उहाँका ‘साझपख’, ‘पाइने रैछ माया’ लगायत दर्जनौं म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन्।
२०५० सालदेखि रेडियो नेपालमा आधुनिक गीत गायनमार्फत गायन यात्रा सुरु गर्नुभएका थानी पचास र साठीको दशकका चर्चित गायकहरूमध्ये एक मानिनुहुन्छ।
त्यसैगरी, उहाँ नेपाल टेलिभिजन र रेडियो नेपालमा समाचार वाचक र कार्यक्रम प्रस्तोताका रूपमा पनि सक्रिय रहनुभएको थियो।
संगीत, सञ्चार र प्रशासन — तीनै क्षेत्रमा सन्तुलित योगदान दिँदै आनुभएका थानीका सिर्जनाहरूले देशभक्ति, माटोको माया र मानवीय संवेदनालाई सशक्त रूपमा उजागर गर्दै आउनुभएको छ्।

