एप्पलको बहुप्रतीक्षित सस्तो आईफोन एसई यही बुधबार सार्वजनिक हुने भएको छ । कम्पनीका सीईओ टिम कुकले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट राख्दै एप्पल लन्च इभेन्टको घोषणा गरेका हुन् ।
बुधबार आईफोन एसई फोरसँगै एप्पलका अन्य उत्पादन तथा सेवाहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यससँगै एप्पलको सबैभन्दा सस्तो आईफोन मोडल आईफोन एसई फोरको बिक्री दुई करोडभन्दा बढी हुने बताइएको छ । लिकर एवम् एप्पल विश्लेषक मिङ-चि कुओले यो आईफोन एसई इतिहासमै सबैभन्दा बढी युनिट बिक्री हुने आईफोन एसई मोडल बन्ने दाबी गरेका हुन् ।
नयाँ मोडलको फिचरका कारण यसको माग बढ्ने अपेक्षा गरिएको छ । यसमा आईफोन १६ मा प्रयोग भएको चिपसेट अर्थात् ए १८ बायोनिक प्रयोग हुने बताइएको छ । एप्पलको एआई फिचर एप्पल इन्टेलिजेन्स सपोर्ट गर्नका लागि पनि सो मोडलमा उक्त चिपसेट आवश्यक हुन्छ । त्यसैले पनि अन्य मोडलभन्दा यसको प्रभाव बढी हुने अपेक्षा गरिएको छ ।
त्यस्तै यसमा आईफोन १४ को बेस र प्लस भेरियन्टको जस्तो ठूलो ६.१ इन्चको ओएलईडी डिस्प्ले हुनेछ । यसको रिफ्रेस रेट भने ६० हर्ज हुनेछ । त्यस्तै यसमा फेस आईडी, यूएसबी-सी पोर्टको सुविधा पनि हुनेछ । त्यसैले पनि आईफोनका पुराना मोडलको प्रयोगकर्ताका लागि यो फोन विशेष हुने बताइएको छ । यसको पछाडिपट्टि ४८ मेगापिक्सेलको एउटा क्यामेरा र फ्लाशलाइट हुनेछ । यो फोन ६४ जीबी इन्टर्नल स्टोरेजबाट सुरु हुने भनिएको छ ।
यो फोन गुगल पिक्सेल नाइन ए र सामसङ ए ५६ का लागि कडा प्रतिद्वन्द्वी हो । यसको मूल्य कति हुन्छ भन्ने जानकारी बाहिर आइसकेको छैन । यद्यपि अन्तर्राष्ट्रिय बजारमा यो फोन ४९९ डलर (करिब ६८ हजार रुपैयाँ) पर्ने अनुमान गरिएको छ ।