रुकुम पश्चिम, सल्ले। रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका १६ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार आयोजित विशेष समारोहबीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
स्वास्थ्य सेवा कार्यालय, सल्लेमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो। घोषणा अघि स्वास्थ्य सेवा व्यवस्थापक डा. जीवन परियारले जिल्लाले पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक सबै सूचक र मापदण्ड पूरा गरेको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन भएपछि घोषणा गरिएको हो।
घोषणापछि प्रमुख गौतमले यो उपलब्धि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका, सरोकारवाला निकाय र स्थानीय समुदायको साझा प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले पूर्ण खोप सुनिश्चितताको अवस्थालाई आगामी वर्षहरूमा पनि निरन्तर कायम राख्न सबै पक्षले समान जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले पनि पूर्ण खोप सुनिश्चिततालाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अवसरमा कर्णाली प्रदेश सरकारका तर्फबाट रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको प्रमाणपत्र प्रदान गरिएको छ। प्रदेश खोप समन्वय समितिका सदस्य तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका खोप फोकल पर्सन ओमप्रकाश पौडेलले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।
जिल्लालाई घोषणा गर्नुअघि सबै स्थानीय तहमा विस्तृत घरधुरी सर्वेक्षण सञ्चालन गरिएको थियो। सर्वेक्षणका क्रममा ९ हजार ६ सय ९६ जना बालबालिकाको विवरण संकलन गरिएकामा ११० जना बालबालिका खोप कार्यक्रमबाट छुटेको भेटिएको थियो। तीमध्ये १०७ जनाले बीचमै खोप लगाउन छाडेका थिए भने ३ जना बालबालिकाले कुनै पनि खोप नपाएको अवस्था रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। पछि छुटेका सबै बालबालिकालाई आवश्यक खोप प्रदान गरी पूर्ण खोप सुनिश्चित गरिएको कार्यालयले जानकारी दिएको छ।
सर्वेक्षणका क्रममा ३ सय ७३ जना बालबालिकासँग खोप कार्ड नभेटिए पनि स्वास्थ्य अभिलेख तथा अन्य प्रमाणका आधारमा उनीहरूको खोप अवस्था प्रमाणीकरण गरिएको थियो। हरेक वर्ष खोपबाट छुटेका बालबालिकाको खोजी गरी खोप दिने अभियान सञ्चालन हुँदै आएको कार्यालयको भनाइ छ।
स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काका अनुसार १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप कार्यक्रमअनुसारका ९ प्रकारका सबै खोप प्राप्त गरेको अवस्थालाई पूर्ण खोप सुनिश्चितता मानिन्छ। यही सुनिश्चित गर्न १६ देखि ५९ महिना उमेर समूहका बालबालिकामा नियमित रूपमा सर्वेक्षण गरिने र छुटेका बालबालिकालाई आवश्यक खोप उपलब्ध गराइने व्यवस्था रहेको उहाँले बताउनुभयो।
उहाँका अनुसार पूर्ण खोप सुनिश्चितताको उद्देश्य सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउनु, खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रण गर्नु, बाल मृत्युदर घटाउनु तथा स्वस्थ र सुरक्षित समाज निर्माण गर्नु हो। प्रत्येक वर्ष वडा, पालिका हुँदै जिल्लास्तरसम्म पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रक्रिया निरन्तर सञ्चालन हुँदै आएको पनि उहाँले जानकारी दिनुभयो।
हाल जिल्लामा १०९ वटा नियमित खोप केन्द्र सञ्चालनमा रहेका छन्। ती केन्द्रमार्फत प्रत्येक महिना नियमित खोप सेवा प्रदान हुँदै आएको छ। जिल्लामा रहेको भ्याक्सिन भण्डारण केन्द्रबाट आवश्यकताअनुसार सबै खोप केन्द्रमा खोप आपूर्ति गरिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका खोप फोकल पर्सन ओमप्रकाश पौडेलले रुकुम पश्चिम कर्णाली प्रदेशमै सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो जिल्ला बनेको उल्लेख गर्नुभयो। उहाँले यो उपलब्धिलाई आगामी वर्षहरूमा पनि निरन्तर कायम राख्दै अभिलेखीकरण र अनुगमनलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले जिल्लाका सबै बालबालिकाले तोकिएका सबै खोप प्राप्त गर्नु गौरवको विषय भएको बताउँदै आगामी दिनमा पनि पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहने बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य सेवा व्यवस्थापक डा. जीवन परियार, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, जनस्वास्थ्य अधिकृत हरिबहादुर पुन, जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेबापत जनस्वास्थ्य अधिकृत कालीबहादुर ओली, सिनियर अहेव शंकर ओली र अहेव समीक्षा खड्कालाई सम्मान गरिएको थियो। साथै जिल्लाका सबै ६ वटै स्थानीय तहका स्वास्थ्य शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो।


