बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापनका क्षेत्रमा भईरहेका विकृतिको बारेमा आफूहरु डटेर लागिरहेका बताउनुभएको छ ।
शुक्रबार रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा भएको विज्ञापनको नियमन, लोक कल्याणकारी विज्ञापन लगाएका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विज्ञापन बोर्ड विज्ञापनका क्षेत्रमा भईरहेका विकृतिको बारेमा डटेर लागिरहेको बताउनुभएको हो ।
विज्ञापनको क्षेत्रमा धेरै विकृति रहेको त्यसको नियन्त्रण र नियमनमा विज्ञापन बोर्ड लागिरहेको बताउनुभयो। एजेन्सी मोटाउने र मीडिया सुक्ने गलत परिपाटीको अन्त्य हुनुपर्ने बताउँदै ,गलत काम गर्ने विज्ञापन एजेन्सीहरूलाई आफूले कारबाही गरिरहेको समेत जानकारी दिनुभयो।
मिडिया सञ्चालनको मुख्य क्षेत्र विज्ञापन भएको र विज्ञापनमा ठुला मिडियाकै हालिमुहाली हुँदा स्थानीय सञ्चार माध्यामहरु बन्द हुने अवस्थामा पुगेको बताउँदै हुमागाईले बोर्डले देशभरका सबै स्थानीय तहको लागि स्थानीय तहको विज्ञापन नीति निर्माण गरिदिएर पठाएकोले त्यसलाई कार्यान्वयन गर्न जिल्लास्तरका सरोकारवालाहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले विज्ञापनमा स्थानीय मिडियाहरूलाई विभेद गरिएको, विज्ञापनको समानुपातिक वितरण हुन नसकेको, पत्रकारका नाममा मनलाग्दी भइरहेको लगायतका प्रश्नहरू गरेका थिए। पत्रकारको प्रश्नको जवाफ दिँदै हुमागाईले विज्ञापनका क्षेत्रमा विकृति भएको देखिएमा उजुरी गर्न समेत आह्वान गर्दै लोककल्याणकारी विज्ञापनको लागि हरेक वर्ष सरकारले करिब ३० करोड रुपियाँ विभिन्न सञ्चार माध्यामहरुलाई दिदै आएको जानकारी गराउनुभयो प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा विज्ञापन बाेर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्री, शाखा अधिकृत बाबुराम पाण्डे, बोर्डका कर्मचारीहरू प्रकाशचन्द्र अधिकरी, गणेश बुढाथाेकी, पत्रकार महासङ्घका अध्यक्ष गोपालप्रसाद रेग्मी, पत्रकारका सङ्घ सङ्गठन तथा जिल्लास्थित क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो । महासङ्घका उपाध्यक्ष देवकुमार ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासङ्घका सचिव दिपेन्द्र महताराले गर्नुभएको थियो ।