रुकुम पश्चिम जिल्लास्थित आमसञ्चारका माध्यमबाट लागु औषध विरुद्ध जनचेतना जगाउने किसिमका सूचना तथा समाचार सामग्री प्रकाशन, प्रसारण गर्ने निर्णय भएको छ ।
लागु औषध विरुद्धको ३ महिने अभियान यहि फाल्गुन १ गतेबाट सुरु भएको अभियान वैशाखसम्म चल्ने छ । अभियान अन्तर्गत रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले विभिन्न कार्यक्रम गरिरहेको जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकारहरूसँगको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले लागु औषध विरुद्धको तीन महिने अभियान अन्तर्गत केही कार्यक्रम भएको र विभिन्न कार्यक्रम हुने जानकारी गराउनुभयो । लागु औषध विरुद्ध सचेतनामूलक कार्यक्रम, सडक नाटक र लागु औषध नष्ट गर्ने काम हुने उहाँले बताउनुभयो ।
अभियान अन्तर्गत सीमा जोडिएका जिल्लाको संयुक्त सुरक्षा निकायको बैठक समेत रहेकोमा एउटा बैठक सम्पन्न भएकामा अझै त्यस्ता दुई वटा बैठक सञ्चालन हुने उहाँले बताउनुभयो । साथै लागु औषध विरुद्धको अभियानमा जिल्लास्थित आमसञ्चार माध्यमहरूलाई प्रयोग गर्ने निर्णय भएको छ ।
अभिमुखीकरण कार्यक्रममा लागु औषध नियन्त्रणका लागि मिडिया मार्फत जनचेतना जगाउने निर्णय भएको प्रजिअ जिसीले जानकारी दिनुभयो । अभियानको मर्म र आमसञ्चारकर्मीहरूको सामाजिक दायित्व समेतलाई दृष्टिगत गर्दै लागु औषध विरुद्धको अभियानमा सबै सञ्चारकर्मीहरू आ-आफ्नो स्थानबाट सक्रियता पूर्वक क्रियाशील हुने निर्णय भएको उहाँको भनाई छ ।