प्रधानमन्त्री (पिएम) कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागी टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफका लागि दिपक बोहोराले सर्वाधिक ७० रनको अविजित पारी खेले । उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।
यसैगरी सुमित महर्जनले अविजित ३४, आसिफ शेखले २५ तथा लोकेश बम र कप्तान रोहितकुमार पौडेलले समान २२ रन बनाए । छैटौं विकेटका लागि दीपक र सुमितले अविजित १०७ रनको साझेदारी गरे ।
कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २ तथा प्रकाश जैसीले १ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो
कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए । दिनेश अधिकारीले ३३ रन जोड्दा दिपेन्द्र रावत ३० रनमा अविजित रहे । प्रकाश जैसीले २० तथा दिवान पुनले १२ र अर्जुन घर्तीले १० रन बनाए ।
एपिएफका लागि अभिषेक गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दिपक बोहोरा, कप्तान रोहित र भुवन कार्कीले समान १ विकेट लिए ।
एपिएफ चौथो खेलमा ३ जितका साथ तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा रहेको छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।