रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका ११ नम्बर वडाको भलाक्चामा चिकित्सकीय सुपरभिजन तथा एक दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सि.एम.सी. नेपाल)को आयोजना र मुसिकोट नगरपालिकाको सहजीकरणमा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तरगत भलाक्चा स्वास्थ्य चौकीको चिकित्सकीय सुपरभिजन तथा एक दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीले उपचार गर्दा देखिएका समस्या र सेवा प्रवाहको गुणस्तरबारे प्राबिधिक सहयोग पुर्याउने हेतुले सोमबार भलाक्चा स्वास्थ्य चौकीमा आयाेजित चिकित्सकीय सुपरभिजन तथा मानसिक स्वास्थ्य शिविरमा ४४ जना सेवाग्राहीले सेवा लिएकाे बताइएको छ । शिविरमा यसअघि मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिइरहेका २२ पुरुष र १५ महिला तथा नयाँ १० पुरुष र १२ महिला गरी ४४ जनाको स्वास्थ्य उपचार तथा औषधी बितरणसँगै बिशेषज्ञबाट परामर्श सेवा प्रदान गरिएको भलाक्चा स्वास्थ्य चौकीका निमित्त प्रमुख चुडामणी बि.क.ले जानकारी दिनुभयो ।
शिविरमा भलाक्चा स्वास्थ्य चौकी ब्यबस्थापन समिति अध्यक्ष एबं ११ नम्बर वडा अध्यक्ष गोविन्द बहादुर बुढा, ११ नम्बर वडा सचिव धन कुमार शाही, भलाक्चा स्वास्थ्य चौकीका निमित्त प्रमुख चुडामणी बि.क., सि.एम.सी.नेपालका मानसिक रोग बिशेषज्ञ डाक्टर दिपिका बिधान, मानसिक स्वास्थ्य संयोजक सुमिता मल्ल, मनोसामाजिक अधिकृत डिल बहादुर शाही, मनोसामाजिक परामर्शकर्ता सर्वजित खड्का लगायत भलाक्चा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।