रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भूकम्प पीडितहरूका लागि पुनर्निमार्णको काम सुरु गरेको छ ।
नगरपालिकाको वडा नम्बर २ का दुई जना लाभग्राहीहरूसँग सम्झौता गरी पुनर्निर्माण काम सुरु गरिएको हो । दुई नम्बर वडा अध्यक्ष विरबहादुर रानाले उक्त वडाका विष्णुप्रसाद गौतम र सशिला रावतसँग पुनर्निमार्णको लागि बुधबार सम्झौता गर्नुभएको हो ।
सम्झौता बमोजिम पहिलो किस्ता वापत ५०/५० हजार रुपैयाँ उहाँको खातामा जम्मा गरी चेक समेत हस्तारण गरिएको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
गत कार्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रविन्दु भइ गएको भूकम्पका कारण चौरजहारी नगरपालिका क्षेत्रभित्रका ७ हजार ४ सय घरमा क्षति पुगेको तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएको प्राविधिक टोलीले क्षतिको विस्तृत आकलन गरेको थियो । क्षतिको आकलनपछि लाभग्राही पहिचान गर्नुका साथै जिल्ला विपद व्यवस्थापन समितिले लाभग्राही स्वीकृत गरेपछि पुनर्निर्माणका लागि सम्झौता सुरु भएको हो ।
विस्तृत क्षति आकलन सकिएका बाँकी वडाहरूमा पनि लाभग्राही पहिचान र स्वीकृतिको कामलाई उच्च प्राथमिकतामा राखी पुनर्निर्माणको कार्यलाई तीव्रता दिइने छ । समयमै रकम उपलब्ध हुन नसकी अस्थायी आवास अनुदान वापतको दोस्रो किस्ताको रकम हालै प्राप्त भएपछि सम्बन्धित लाभग्राहीको खातामा निकासा भइरहेको र केही दिनमा सबै लाभग्राहीको खातामा उक्त रकम जम्मा भइसक्ने गरी काम भइरहेको अधिकृत ढकालले जानकारी दिनुभयो।



