रुकुम पश्चिमको खलङ्गा स्थित बालमन्दिर हलमा सञ्चालित २ दिने औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा हिजोबाट शुरु भएको प्रदर्शनी आज एक कार्यक्रमकाबीच समापन गरिएको हो । उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने नाराका साथ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्य राखेर उक्त प्रदर्शनीको आयोजना गरिएको थियो ।
प्रदर्शनीमा १९ उद्यमी सहभागी भएका थिए भने ती मध्ये ३ जना उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिएको उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख रमेश ओलीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा मुसिकोट नगरपालिका वडा नम्बर ८ का गङ्गाकुमारी थापा र मनकुमारी रोकाले सञ्चालन गरेको घाेरखानी अल्लो तथा ढाका उद्योग प्रथम भएको थियो । त्यस्तै आठबिसकाेट नगरपालिका २ का दीपक ओलीले सञ्चालन गरेको सिस्ने हिमाल नेपाली हाते कागज उद्योग द्वितीय र त्रिवेणी ६ का कर्णराज ओलीले सञ्चालन गरेको मनाेशान्ती मल्टी पर्पाेज एग्रिकल्चर किवी प्रालि तृतीय भएको थियो ।
प्रथमलाई २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ७ हजार नगद पुरस्कार प्रदान गरिएको कार्यालय प्रमुख ओलीले जानकारी दिनुभयो ।
उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख रमेश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख तथा समन्वय उपप्रमुख देवबहादुर बिक र प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, प्रहरी निरीक्षक ऋषि पाठक, जिल्ला समन्वय अधिकारी जितबहादुर ओली, तरकारी बीउबिजन केन्द्र चापाका प्रमुख पदमबहादुर सुवेदी लगायतकाे आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन घरेलु तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर खत्रीले गर्नुभएको थियो ।