रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवस मनाइएको छ ।
आज मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभा हलमा शुभकामना आदानप्रदान गरी स्थापना दिवस मनाइएको हो ।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समन्यव समिति रुकुम पश्चिमको आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माा(प्रभाकर)को प्रमुख अतिथ्यता रहेको कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न राजनितिक दलहरुलाई आमण्त्रण गरिएको थियो ।
प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले कम्युनिस्टहरूले जनताका लागि पटक पटक सत्तामा जाँदा पनि आशा लाग्दो गर्न नसकेपछि कम्युनिस्टहरूप्रति जनताको विश्वास केही मात्रामा गुमेको बताउनुभयो ।
उहाँले भन्नुभयो- “नेपालमा कम्युनिस्ट पार्टीहरु छिन्नभिन्न भएका छन यसरी समाजवादीको यात्रा सफल हुन सक्दैन । अब सबै कम्युनिस्ट एक ठाउँमा आउनु पर्दछ अनि मात्र हामीले भनेकाे समाजबादको यात्रा सम्भव हुनेछ ।”
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्री, नेकपा एमालेका अध्यक्ष नन्दराम देवकोटा, नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव अमरराज पुन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गिरीप्रसाद बुढा, नेकपाका जिल्ला सेक्रेटरी महेश सी, नेकपा बहुमतका जिल्ला सचिव सोमपाल कामी सहित नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले गर्नुभएको थियो ।