२०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले सानीभेरी १ को जनप्रिय आधारभूत विद्यालयको क्षतिग्रष्त भवन निर्माण सुरु भएको छ ।
सिद्धार्थ बैंक लिमिटेडले पुनर्निर्माण सुरु गरेको विद्यालय भवनको आज गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले शिलान्यास गर्नुभएको हो ।
भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्य एक भवनको पुनर्निर्माण कार्यको लागि सिद्धार्थ बैंकले सहयोग गरेको सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्टले जानकारी दिनुभयो ।
शाखा प्रवन्धक बिष्टका अनुसार चार कोठाको दुई तले भवन निर्माण सुरु भएको हो । बैंकले सधैँ बालबालिकाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको पनि बताउनुभयो ।
आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार भएकोले उनीहरुको भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला विद्यालय भएकोले प्रारम्भिक शिक्षा मात्र नभई, उच्च शिक्षामा समेत दीर्घकालीन प्रभाव पर्ने सहयोग गर्दै आइरहेको जनाएको छ । दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले बैंक यस क्षेत्रलाई विशेष प्राथमिकता दिएको शाखा प्रवन्धक विष्टले बताउनुभयो ।
जनप्रिय आधारभूत विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन भइरहेको र १७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
उक्त शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नम्वर १ का वडा अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुलाराम खड्का, विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्टका साथै शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।