विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई चालु संसद् अधिवेशनबाट पारित गर्ने लिखित प्रतिबद्धता जनाएसँगै शिक्षकहरुको आन्दोलन स्थगित भएको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा २०८१ चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक तथा कर्मचारीहरूको पेशागत आन्दोलनका सन्दर्भमा प्रमुख सत्तारुढ दलका नेताहरूले संयुक्त रुपमा जारी गरेको प्रतिबद्धता पत्रमा विद्यालय शिक्षा विधेयक २०८० चालु संसद् अधिवेशनभित्र (अर्थात २०८२ असार १५ गतेभित्र) पारित गराउने उल्लेख गरिएको छ।
संसदीय दल, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेको उक्त प्रतिबद्धता पत्रमा संसदमा विधेयकबारे सैद्धान्तिक छलफल सम्पन्न भइसकेको र समितिमा उपसमिति गठन गरी दफावार छलफल भइरहेको जनाइएको छ।
सत्तापक्षका नेताहरूको यो प्रतिबद्धतालाई शिक्षक महासंघले सकारात्मक रुपमा लिँदै ऐन तोकिएको मितिभित्र पारित नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।