मुसिकोट नगरपालिकाको ट्याखोला जारी प्रथम पालिका स्तरिय यु-१६ क्रिकेट प्रतियोगिताको उपाधी सानीभेरीले जितेको छ ।
आज भएको फाइनलमा मुसिकोट नगरपालिकालाई ८ विकेटले पराजित गर्दै सानीभेरीले उपाधी जितेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको मुसिकोटले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको थियो ।
मुसिकोटका लागि विक्रम ओलीले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुसिकोटलाई सस्तैमा समेट्न सानीभेरीका बिराज ओलीले २ र भुवन भण्डारी तथा किरण रानाले १-१ विकेट लिए ।
५९ रनको लक्ष पछ्याएको सानीभेरीले ९ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्याे । उसका लागि सूर्य विकले सर्वाधिक २५ र डिल्ली भण्डारीले ११ रनको योगदान गरे । मुसिकोटका अर्जुन बिस्ट र रामकृष्ण परियारले १-१ विकेट लिए ।
सानीभेरी अपराजित रहँदै च्याम्पियन बनेको हो ।
सानीभेरी मुसिकोट, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकालाई पराजित गर्दै समूह विजेताका रूपमा फाइनल प्रवेश गरेको थियो भने मुसिकोट समूह चरणमा चौरजहारी र त्रिवेणीलाई पराजित गर्दै समूह उपविजेताका रूपमा फाइनल पुगेको थियो ।
विजेता सानीभेरीले नगद ३० हजार ट्रफि र प्रमाणपत्र पाउँदा उप विजेता मुसिकोटले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सानीभेरीका भुवन भण्डारी घोषित भए । उनले साइकल उपहार पाए । त्यस्तै मुसिकोटका विक्रम ओली उत्कृष्ट ब्याट्सम्यान, सानीभेरीका किरण राना उत्कृष्ट बलर र मुसिकोट शुभम् बुढा उत्कृष्ट फिल्डर बने ।
सर्वोत्कृष्ट सहित व्यक्तिगत इभेन्टमा उत्कृष्ट सबैले मेडल, प्रमाणपत्र र उपहार प्राप्त गरेको ओलीले बताउनुभयो ।
जिल्लामा पहिलो पटक १६ वर्ष मुनिको प्रतियोगिता आयोजना भएको हो । जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ र देव्यानी स्पाेर्टस मुसिकोट ५ बागबजार मिलेर प्रतियोगिता आयोजना गरेका हुन् ।