नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ ।
चैत १ गते देखि सुरु गरिएको पहिलो चरणको देशव्यापी कार्यक्रम अन्तरगत रहेर आज सबै पालिकामा ज्ञापनपत्र बुझाएको हो ।
केन्द्रको सर्कुलर अनुसार “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारा सहित जिल्ला स्थित गाउँपालिका र नगरपालिकामा मागपत्र बुझाइएको जिल्ला अध्यक्ष सुरज कुमार परियारले जानकारी दिनुभयो।
मागपत्रमा सम्बन्धित पालिकाको शिक्षा, स्वास्थ्य, यातायात, गरिवी, भ्रष्टाचार लगायत विभिन्न क्षेत्रमा देखिएका समस्यालाई उठान गरिएको छ ।
जसअन्तर्गत सुशासन र रोजगारीलाई नै प्रमुख मुद्दाको रुपमा राखिएको अध्यक्ष परियारले जानकारी दिनुभयो । सोही अनुरूप प्रत्येक पालिकाले प्रस्तुत गर्ने आगामी नीति तथा कार्यक्रममा मागपत्रमा समेटिएका विषयवस्तुहरू राख्न आग्रह गरिएको छ ।
त्यस्तै मागपत्रमा सम्बन्धित पालिकाको प्राकृतिक स्रोत र साधनका रुपमा रहेको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्ने गरी नीति तथा कार्याक्रमको तर्जुमा गरी कार्यान्वयन गर्न भनिएको छ ।
यसैगरी जनताको पहुँच हुने गरी कृषि, सडक, यातायात, पर्यटन, खानेपानी लगायत क्षेत्रका समस्यालाई सुधार गर्नुपर्ने माग राखिएको अध्यक्ष परियारले बताउनु भयो।