रुकुम पश्चिमको मुसिकोटमा सिस्नुपानी नेपालको टिम आउने भएको छ ।
हास्यव्यङ्ग्य मार्फत जनचेतना फैलाउदै आएको सिस्नुपानी नेपालको टिम आगामी जेठ ७ गते हास्यव्यङ्ग्यको प्रस्तुति लिएर रुकुम पश्चिम आउने भएको हो ।
कार्यक्रम मुसिकोट नगरपालिका ५ सेरिगाउँ स्थित सहिद प्रतिष्ठानको सभाहलमा हुनेछ ।
कर्णाली सिस्नुपानी कार्यक्रम अन्तर्गत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँगको सहकार्यमा हुने यस कार्यक्रमको समन्वय मुसिकोट नगरपालिका र सहजिकरण जिल्ला प्रशासन कार्यालय र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले गर्ने रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले जानकारी दिनुभयो ।
सिस्नुपानी नेपालले विभिन्न समयमा हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनचेतना फैलाउनुका साथै देशमा व्याप्त भ्रष्टाचार उन्मूलन र सुशासन स्थापनाको लागि सरोकारवालाहरूलाई घचघच्याउने काम गरिरहेको छ ।
उक्त कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्षत्रय मनोज गजुरेल, अर्जुन पराजुली, धिरेन्द्र प्रेमर्षि, महासचिव टङ्कराज आचार्य, सहसचिव सरोज घिमिरे, सदस्यद्वय शिशिर योगी र चक्र दवाडी, ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन शर्मा र संयोजक विनोद भट्टराई उपस्थित हुने सचिव ओलीले बताउनुभयो।