कर्णाली प्रदेशकै ठुलो पुरस्कार राशीको भलिबल प्रतियोगिता रुकुम कप भलिबलको तेस्रो संस्करण हुने भएको छ ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा प्रतियोगिताको तेस्रो संस्करण यहि जेठ १८ गते देखि २५ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा सञ्चालन हुने भएको हो ।
आज पत्रकार सम्मेलनमार्फत यस वर्षको प्रतियोगिता पुरुष तर्फ खुला पालिका स्तरीय र महिला तर्फ खुला हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उप विजेताले २ लाख ९१ हजार, तेस्रो हुनेले १ लाख ५१ हजार तथा सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र पाउने बुढाले बताउनुभयो ।
सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ भने वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले जानकारी गराउनुभयो ।
पुरुष तर्फ नेपाल भरीका पालिकाले सहभागिता जनाउन पाउने छन् भने अनिवार्य रूपमा तीन जना खेलाडी पालिका बाहिरका राख्नुपर्ने उहाँको भनाई छ । पालिका बाहिरका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समेत हुन सक्ने उहाँले बताउनुभयो ।
त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार, तेस्रो हुनेले ५० हजार तथा सान्त्वना टिमले २५ हजार पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले बताउनुभयो ।
जिल्लाको भलिबल विकास गरी रुकुमलाई खेलकुदको हबका रूपमा विकास गर्नुका साथै खेल पर्यटनको विकासका लागि रुकुम कम भलिबलको परिकल्पना गरिएको अध्यक्ष बुढाको भनाइ छ ।