जाजरकोट जिल्लाको दुर्गम क्षेत्र जुनीचाडेँ गाउँपालिकामा पहिलोपटक फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना सम्बन्धी शिविर सम्पन्न भएको छ ।
जुनीचाडेँ गाउँपालिका १० स्थित शिर्पा आधारभूत स्वास्थ्य केन्द्रको गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिको संख्या उच्च रहेको र स्वास्थ्य सेवाको पहुँच अत्यन्तै सीमित रहेको यस गाउँपालिकामा अहिलेसम्म यस्तो प्रकारको सेवा कहिल्यै नपुगेको हुँदा, यो शिविरले त्यहाँका अपाङ्गता भएका नागरिकका लागि ठूलो राहत पु¥याएको छ ।
गाउँपालिकाको समन्वयमा वडा नम्बर १० र वडा नम्बर ५ मा कार्यक्रम आयोजना गरिए पनि, थप रूपमा वडा नम्बर ४ अन्तर्गत लुहादह, दलित बस्ती र विष्ट गाउँमा समेत शिविर संचालन गरिएको छ । ती स्थानहरूमा पुगेर अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण तथा सहायता सामग्री पनि वितरण गरिएको आयोजकले बताएको छ ।
शिविरमा कुल ११९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ९४ जनालाई ह्वीलचियर, क्रच, वाकर, ट्रायपोर्ड, स्प्लिन्ट, अर्धबेहोस अवस्थामा सहयोगी उपकरण लगायतका विविध सहायता सामग्री वितरण गरिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा सह संयोजक योगेश्वर शाही, वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर खड्का, वडा नं। १० का जनप्रतिनिधिहरू नर बहादुर रोकाया, मान बहादुर बस्नेत, अपाङ्ग समन्वय समितिका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिविरबाट सेवा लिएका अधिकांश अपाङ्गता भएका नागरिकहरू अत्यन्तै खुसी देखिएका छन । अहिलेसम्म त्यस्ता सेवा कहिल्यै नपाएका उनीहरूले पहिलो पटक आफूलाई राज्यबाट सम्मानित र सम्बोधित महसुस गरेको बताएका छन् ।