रुकुम पश्चिमको सानीभेरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
पालिकाका सबै बालबालिकाले यो वर्ष पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेकाले बिहीबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
सबै १३ प्रकारका खोपको मात्रा पालिकामा रहेका सबै बालबालिकाले पाएपछि सानीभेरी गाउँपालिकालाई यो वर्षको पूर्ण सुनिश्चितता तथा दिगोपाना घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाका अनुसार पालिकामा जन्मेदेखि देखि १५ महिना सम्मका ५ सय ९२ जना र १६ देखि ५९ महिनासम्मका १ हजार ५ सय ९२ जना बालबालिका रहेका छन् । उनीहरू सबैले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार ओलीले बताउनुभयो ।
खोप तालिका अनुसार सबै बालबालिकाले लगाए नलगाएको भनेर अवस्था पहिचान गरिएको थियो । छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । १३ जना बालबालिकामा खोप छुटेको पाइएको थियो । उनीहरू सबैलाई पुरा खोप लगाइएको प्रमुख ओलीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष तथा पालिकाका खोप समन्वय समिति अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्का, पालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार ओली लगायतको आतिथ्यता रहेको थियो ।
सानीभेरी गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा भएसँगै जिल्लाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका हुन् । अब जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी रहेको छ ।