ठूलीभेरी नदिमा खसेको यति बिल्डर्सको टिप्पर भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ॠषि पाठकका अनुसार मंगलबार साँझ भेरी कोरिडोर अन्तर्गत आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित सडकबाट खसेको टिप्पर घटनास्थल भन्दा करिब चार सय मिटर तल ठुलीभेरी नदीमा भेटिएको हो ।
उहाँका अनुसार टिप्परमा रहेको तीन जनाको अवस्था भने अझैसम्म अज्ञात रहेको छ । उनीहरु नदिमै बेपत्ता भएको अनुमान रहेको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्ट सहितको टोली रहेको छ ।
अहिले नदीमा देखिएको टिप्पर निकाल्नका साथै बेपत्ताहरुको खोजी कार्य भईरहेको छ । टिप्पर जाजरकोट पट्टीको भागमा फेला परेको हो ।
हिजो साँझ आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी करिडोर सडकखण्डबाट ठुलीभेरी नदीमा खस्दा चालक सहित तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेहरुमा टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति विल्डर्सका जेसिबि चालक रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का धनबिर बिक र हेल्पर रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ का हरि बिक रहेको प्रहरीले जनाएको छ ।