रुकुम पश्चिम
रुकुम पश्चिममा चाडपर्व लक्षित १० यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा खलङगा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत, सोलाबाङ, सिम्ली, चौरजहारी बसपार्क, राडी र झुल्नेटामा सहायता कक्ष सञ्चालनमा ल्याएको हो।
सहायता कक्षमार्फत यात्रुहरूले दोहोरो टिकट, बढी भाडा, सामान हराउने वा क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता समस्या बारे गुनासो गर्न सक्ने छन्। गुनासो तत्काल समाधान गर्न प्रहरी परिचालन गरिएको ट्राफिक प्रमुख शैलेन्द्र कुमार मल्लले जानकारी दिनुभयो।
यात्रु चाप बढ्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी प्रशासनले राजमार्गदेखि ग्रामीण सडकसम्म निगरानी कडा पारेको जनाएको छ।