रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा गठित त्रिवेणी प्रज्ञा प्रतिष्ठानले ११७औँ लक्ष्मी जयन्तीको अवसरमा आयोजित खुल्ला कविता प्रतियोगिता सोमबार भव्य रूपमा सम्पन्न गरेको छ।
प्रतियोगितामा प्रेमा शेर्पालीले पहिलो स्थान हासिल गर्दै ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो। त्यस्तै किस्मत सिर्पाली दोस्रो भई २५०० रुपैयाँ, विनोद शेर्पाली तेस्रो भई २००० रुपैयाँ र देवीका खड्का तथा होमराज खड्काले सान्त्वना पुरस्कारस्वरूप १५०० रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभयो। विजेताहरूलाई प्रमुख अतिथि त्रिवेणी गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा सामाजिक विकास संयोजक रणबहादुर पुन विशिष्ट अतिथिहरु ३ नम्बर वडा अध्यक्ष दिपेन्द्र कुमार ओली , राप्ती साहित्य परिषद् रुकुम पश्चिमका सल्लाहकार मुकुन्दप्रसाद शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि पुनले प्रतियोगितामा सहभागी युवायुवतीहरूको साहित्यिक प्रतिभा प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले यस्ता साहित्यिक कार्यक्रमहरूले सृजनशील सोच र आत्मविश्वास विकासमा ठूलो भूमिका खेल्ने बताउनुभयो।
त्यस्तै, विशिष्ट अतिथि शर्माले भाषा, कला, साहित्य र संस्कृतिको जगेर्नाका लागि यस्ता प्रतियोगिताहरू अत्यन्त उपयोगी हुने बताउँदै निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष दिपेन्द्र कुमार ओलीले पनि विजेताहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम प्रतिष्ठानका उपकुलपति मनलाल ओलीको अध्यक्षतामा तथा परिषद् सदस्य कुबेर ओलीको स्वागत मन्तव्य र सदस्य सचिव नवराज खड्काको सञ्चालनमा सम्पन्न भएको थियो।
प्रतिष्ठानले प्रतियोगीहरूलाई प्रतियोगिता स्थलमै कविता रचना गर्ने व्यवस्था मिलाएको थियो, जुन रुकुम पश्चिममा सम्भवत पहिलो अभ्यासका रूपमा रहेको बताइएको छ। कार्यक्रममा राप्ती साहित्य परिषद् रुकुम पश्चिमका सल्लाहकार हरिप्रसाद खनाल, जिल्ला कोषाध्यक्ष शशीराम घर्ती, साहित्यिक अग्रजहरू, स्थानीय पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

