निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को ३५औँ स्थापना दिवसको अवसरमा सिस्ने एकेडेमी प्रा.लि.ले आज विविध शैक्षिक तथा सामाजिक कार्यक्रम आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको छ।
स्थापना दिवसको अवसरमा सोलाबाङ बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। सरसफाइ कार्यक्रममार्फत विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वच्छ वातावरणको सन्देश प्रवाह गरेको छ।
यसैगरी विद्यालय परिसरमा विद्यार्थीहरूका लागि हाजिरीजवाफ, अंग्रेजी हिज्जे प्रतियोगिता, विभिन्न वस्तु पहिचान खेल तथा कुर्सी रेसजस्ता मनोरञ्जनात्मक एवं शैक्षिक कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता देखिएको बोर्डिङ स्कुलका प्रिन्सिपल बिमल कुमार शर्माले जानकारी दिनुभयो।
प्रिन्सिपल शर्माका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको बौद्धिक क्षमता, आत्मविश्वास तथा सहकार्यको भावना विकासमा महत्वपूर्ण योगदान पुगेको छ। साथै, प्याब्सनको स्थापना दिवसले निजी शिक्षा क्षेत्रको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको उहाँले बताउनुभयो।


