यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आजदेखि सुरु भएको छ ।
बिहीबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको हो।
यसैबिच रुकुम पश्चिमका विभिन्न १६ वटा परीक्षा केन्द्रमा पनि शान्तीपूर्ण रुपमा परीक्षा सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनका अनुसार जिल्लाभर एसइईका लागि ३ हजार ९२७ विद्यार्थीले फाराम भरेका छन् ।
उनीहरु साधारण, प्राविधिक र ग्रेड वृद्धि धारका रहेका छन् । जसमध्य दुई हजार ११६ छात्रा र एक हजार ८११ छात्र रहेका छन् । प्राविधिक धारतर्फ ९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।
जिल्लाका दुई विद्यालयमा प्राविधिक विषयको पढाई हुने गर्दछ । शीतल माध्यमिक विद्यालय चौरजहारीमा सिभिल इन्जिनियर र राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीमा पशु विज्ञानतर्फको प्राविधिक विषयको पढाइ हुन्छ । ग्रेड वृद्धितर्फ यस वर्ष १४३ जना विद्यार्थीले परीक्षाको लागि फाराम भरेका थिए ।
जिल्लामा चार वटा संस्थागत विद्यालय र ७८ सामुदायिक विद्यालय गरी कुल ८२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुने छन् । आज देखि सुरु भएको परीक्षा २९ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ ।


