
रुकुम पश्चिम, असार २८ गते
यातायात कार्यालय रुकुम पश्चिम, चौरजहारीले सवारी चेकजाँचमा कडाइ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गर्न भन्दै यातायात कार्यालयले सवारी छट्के चेकजाँच बढाएको हो ।

कागजात भए नभएको जाँच र सवारी साधनको यान्त्रिक परीक्षणमा जोड दिइएको कार्यालयका प्रमुख मोहन के सिले जानकारी दिनुभयो । जसअन्तर्गत आज जिल्ला सदरमुकाम मुसिकोटमा छट्के चेकजाँच गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यातायात कार्यालयको नेतृत्व मा ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको समन्वयमा राप्ती राजमार्ग र मध्य पहाडी लोकमार्गको संगमस्थल मुसिकोट नगरपालिका वडा नम्बर ४ को शितलपोखरीमा सवारी चेकजाँच गरिएको हो । जम्मा ६० वटा सवारी साधन चेक गरिएकामा १५ वटा सवारी साधन कारबाही परेका छन् उक्त कारबाही बाट १९ हजार पाँच सय राजश्व सङ्कलन भएको बताइएको छ ।

।चालकको लापरबाही तथा पुराना सवारी साधनका कारण सडक दुर्घटना बढिरहेकाले ट्राफिक नियमको पालना गराउन चेकजाँचलाई निरन्तरता दिएको यातायात कार्यालयले जनाएको छ । यसका साथै पुराना सवारी साधनलाई मर्मत सम्भारमा दबाब दिने तथा त्यस्ता साधनलाई विस्थापित गरी सडक यातायात सेवालाई भरपर्दो बनाउने समेत लक्ष राखिएको कार्यालयको भनाई छ ।

छट्के जाँचमा यातायात कार्यालय चौरजहारीका का प्रमुख मोहन के सि जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारी लगायतको टोली खटिएको थियो ।


