
रुकुम पश्चिम, असार २७
कृषि विकास कार्यालय रुकुम पश्चिम ले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका कृषि विकास कार्यक्रम तथा आयोजनाहरूको संयुक्त स्थलगत अनुगमन सम्पन्न गरेको छ।
असार २६ र २७ गते सञ्चालन गरिएको संयुक्त अनुगमनमा प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, कृषि विकास कार्यालय रुकुम पश्चिम का प्रमुख लालबहादुर भण्डारी, बाली संरक्षण अधिकृत अग्रिम धिताल , इन्जिनियर केशब खड्का तथा जिल्ला समन्वय समितिका शाखा अधिकृत जीवन खड्का सहभागी हुनुहुन्थ्यो।

संयुक्त अनुगमन टोलीले जिल्लाका छ वटै स्थानीय तहका विभिन्न स्थानमा सञ्चालन भएका कृषि विकास कार्यक्रम, कृषि पूर्वाधार, उत्पादनमुखी आयोजना तथा कृषकमुखी कार्यक्रमहरूको स्थलगत निरीक्षण गरेको हो।
अनुगमनका क्रममा कार्यक्रमको कार्यान्वयन अवस्था, बजेटको उपयोग, भौतिक तथा वित्तीय प्रगति, कृषकले प्राप्त गरेका सेवा–सुविधा तथा कार्यक्रमको प्रभावकारिताको मूल्याङ्कन गरिएको थियो।
अनुगमन टोलीले कार्यक्रम कार्यान्वयनका उपलब्धि तथा सकारात्मक पक्षहरूको समीक्षा गर्दै देखिएका चुनौती र सुधार गर्नुपर्ने विषयमा आवश्यक सुझावसमेत दिएको जनाएको छ।
साथै, आगामी दिनमा कृषि कार्यक्रमहरूलाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा नतिजामुखी ढङ्गले सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

कृषि विकास कार्यालय का सूचना अधिकारी दिवाकर गौतमका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका कृषि विकास कार्यक्रमहरूको प्रभावकारिता, उपलब्धि तथा कार्यान्वयन अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने उद्देश्यले संयुक्त अनुगमन गरिएको हो। अनुगमनबाट प्राप्त सुझावका आधारमा आगामी कार्यक्रमहरूको योजना तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो।
यो अनुगमनले कृषि क्षेत्रका विकास कार्यक्रमको गुणस्तर अभिवृद्धि, सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग तथा कृषकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


